काठमाडौं, सोमबार, १३ पुस २०७७ । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
दुई देशबीचको हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
भेटमा सीसीपीका उपमहासचिव गुओ येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए ।
उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए। सल्लाहकार भट्टराईका अनुसार चिनियाँ टोलीले दुई देशबीच गहिरिदैं र झ्याँङ्गिदै गएको सम्बन्धमा खुशी व्यक्त गरेका छन् ।
दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको उनको भनाइ छ । सम्बन्धले नयाँ उचाइ हासिल गर्दै जाने आशा चिनियाँ पक्षले सो भेटमा राखेका थिए ।








































