काठमाडौँ, बिहिबार, ९ पुस २०७७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट निष्काशन गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो ।
अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको हो । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ । नेकपा ओलीपक्षीय केन्द्रीय कमिटी सदस्य खिमलाल भट्टराईका अनुसार दाहाललाई कार्यकारी अध्यक्षबाट हटाएपछि अब आलीको मात्र हस्ताक्षर चल्नेछ । बालुवाटार बैठकमा हजारभन्दा बढी सहभागी भएको दाबी गरिएको छ ।
बैठकमा मूलत: चुनाव निर्धारित मितिमा कसरी गर्ने भन्नेमा छलफल केन्द्रित थियो । केन्द्रीय कमिटी बैठकका एजेन्डाहरु स्थायी समिति बैठकले तय गर्ने निर्णय पनि भएको छ ।
बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु पनि तोकेको छ । आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ ।
बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।








































