काठमाडौं, मंगलबार, ३० मङ्सिर २०७७ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषद्को बैठकमा जान सुझाव दिएका छन् ।
सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः नेपाली कांग्रेसले पाउने भएकैले अहिलेसम्म सत्तापक्षले चयन प्रक्रिया अगाडि नबढाएको थापाको आरोप छ ।
पहिले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकले पूर्णता पाउने उनले बताए ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ ।
बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ ।
परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।








































