काठमाडौं, आइतबार, २८ मङ्सिर २०७७ । देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अपील गरेको छ ।
सभापति देउवाद्वारा जारी अपिलमा भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताउँदै यसमा सक्रिय सहभागीताका लागि देउवाले नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तक सबैलाई अपील गर्नुभएको छ ।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको बताउँदै उहाँले वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको आरोप लगाउनु भएको छ ।
नेपाली जनतामा सरकारप्रति फैलिएको व्यापक वितृष्णा सरकारका कारण भएको बताउँदै देउवाले नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको बताउनु भयो । यसकारण नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिन भोलिको सांकेतिक प्रदर्शन गरिएको उहाँको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका तरुणलाई आग्रह गर्दै सभापति देउवाले जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? भन्दै प्रश्न समेत गर्नु भएको छ ।
त्यसैगरि सभापति देउवाले तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी भएको बताउनु भएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको उहाँको भनाइ छ । साथै देउवाले कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको बताउँदै यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक भएको विज्ञप्ति मार्फत बताउनु भएको छ ।
भोलिको प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन सभापति देउवाले नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा अपील गर्नुभएको छ ।










































