काठमाडौँ, बिहिबार, २५ मङ्सिर २०७७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमा थप आक्रामक कारबाही गर्न निर्देशन दिनु भएको छ ।
बुधबार मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री बादलले विप्लव समूहले व्यक्ति हत्याको राजनीति सुरू गरेकोमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनु भएको हो । बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलैन्द्र थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायत सहभागी थिए ।
मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्यालाई संकेत गर्दै गृहमन्त्री बादलले विप्लव समूहले व्यक्ति हत्याको राजनीतिमा लागेको र सरकार टुलुटुलु हेरेर नबस्ने बताउनु भयो । उहाँले श्रेष्ठको हत्या अनुसन्धान तिव्र पार्न र हत्यारालाई पक्राउ गरेर कारवाही गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
मंगलबार विप्लव समूहले सुराकी गरेको आरोपमा मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक श्रेष्ठलाई अपहरण गरी नजिकैको जंगलमा लगेर घाँटी रेटेर हत्या गरेको थियो । उक्त घटनाको विप्लव समूहले जिम्मेवारी समेत लिएपछि त्रास बढेको छ ।
साथै, बैठकमा राजावादीका गतिविधि पनि समिक्षा गरिएको थियो । पछिल्लासमय उपत्यकासहित देशका विभिन्न सहरहरुमा संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षताको खारेजीको माग गर्दै राजावादी समूहहरु प्रदर्शनमा सक्रिय छन् ।








































