काठमाडौं, शनिबार, २० मङ्सिर २०७७ । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् ।
यसपटक उनले नयाँ गीत ‘फुटेको चुरा…’ केही फरक शैलीमा ल्याएका छन् । तीन दिनअघि युट्युबबाट रिलिज गरिएको उनको यो गीतको भिडियो यतिबेला युट्युब नेपाल ट्रेन्डिङमा दुई नम्बरमा रहेको छ ।
प्रकाशले यसपटक यो गीतलाई लोरी शैलीमा प्रस्तुत गरेका छन् । बाल्यकालमा आफूलाई आमाले सुताउने बेलामा थुप्रै राजारानी र राजकुमारीको कथा सुनाएको उनलाई याद छ । सोही कथा वाचन शैलीलाई यसपटक आफूले भिडियोमा प्रस्तुत गरेको पनि उनले बताए ।
अहिलेको डिजिटल युगमा आमाले साना छोराछोरीहरूलाई लोरी सुनाउने प्रचलन हराएकाले सो प्रचलनलाई फेरि स्थापित गर्न लोरी शैलीमा यो गीत र भिडियो तयार गरेको पनि प्रकाशको कथन छ ।
यो नयाँ गीतलाई प्रकाश सपूत र सञ्चारकर्मी एवं गायिका अनिता चलाउनेले गाएका छन् । अनितको स्वर निकै मीठो भएका कारण यसपटक फुटेको चुरामा आफूले उनीसँग सहकार्य गरेको गायक सपूतले बताए ।
गायिका अनिता पनि यो गीत यतिबेला सफल भएकोमा खुसी छन् । प्रकाश सपूतसँग दुई वर्षअघिदेखि नै काम गर्ने योजना रहेको र सो योजना यतिबेला बल्ल सफल भएको उनले बताइन् ।
गीतलाई सायरी शैलीमा सुनाउँदै त्यसपछि गाउने भन्नेबारे आफूले जानकारी गराउँदा यो शैलीलाई अनितालाई मन परेपछि ‘फुटेको चुरा…’ तयार भएको पनि प्रकाशले बताए । लागत केही बढी लागे पनि यो गीत र यसको भिडियोबाट प्रकाश र अनिता दुवै खुसी छन् । १० लाखभन्दा माथिको खर्चमा तयार भएको यो गीत र भिडियोले अहिले पाएको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको यी दुईले बताए । गीतमा दुवै जनाको लगानी भएको आर्थिक घाटा पनि नहुने अनिताको कथन छ ।








































