वीरगञ्ज, बुधबार, २६ कात्तिक २०७७ । तराईमा छठको आफ्नै तथा अलग्गै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरु घडिअर्वा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायतका ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा तलाउ सरसफाइ गरी सजाउने काम भइरहेको छ । स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ शुरु भएको देखिएको छ ।
स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेहरुको सङ्ख्यामा पनि वृद्धि भइरहेकोले देखिन्छ । छठपर्व आउन अझै धेरै दिन बाँकी रहे पनि छठका लागि आवश्यक पर्ने सामान किनमेल गर्नेहरुको बजारमा अहिल्यैदेखि भीड देखिन थालेको छ ।
स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष कोभिड–१९ को त्रास देखिए पनि यो पर्व गर्नेहरुको सङ्ख्यामा भने कमी आउने देखिँदैन, बरु बढ्दै गएको छ । छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो महिना दिन पहिल्यैदेखि शुरु हुन्छ । छठमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्नैपर्ने र तयारी थाल्नैपर्ने भएको स्थानीय विजय पण्डितले बताए ।
मङ्सिर ४ गते पञ्चमीको दिन खरना विधि गरिन्छ र सोही दिनदेखि मिथिलाञ्चलमा रहेका भाइबहिनीबीचको पवित्र पर्व सामा चकेवा पर्व पनि शुरु हुन्छ । छठपर्वअन्तर्गत गरिने विधि खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले घरआँगन लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् ।
यस वर्ष मङ्सिर ४ गते छठपर्वअन्तर्गत खरना विधि अपनाइन्छ । सो दिनलाई षष्ठी भनिन्छ । सोही दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक शुरु हुन्छ । अहिले गाउँघरमा अहिले छठपर्वको गीत गुञ्जिन थालेको छ । सूर्यषष्टीलाई छठपर्व प्रारम्भ हुने दिनको रुपमा लिइन्छ । छठको पहिलो दिन व्रतीहरु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् ।
बेलुकीपख चन्द्रमाको दर्शन गरेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् ।
यो प्रसादलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुहरुले रातभरि जागाराम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त गर्ने गरिन्छ । सो दिनलाई छठको पारन भन्ने गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्छ ।
सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशी समय पर्ने र यस बेलाको सूर्यको प्रकाश प्रभावकारी र मानव स्वास्थ्यका लागि पनि फलदकारी हुनेसमेत मानिएको छ ।









































