काठमाडौं, शनिबार, २२ कात्तिक २०७७ । केही दिनदेखि जारी नेपाली कांग्रेस पदाधिकारी बैठक शुक्रबार पनि कुनै निष्कर्षमा नपुगी टुंगिएको छ । कात्तिक १७ देखि जारी कांग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको अनौपचारिक छलफल पौडेल पक्ष २७ केन्द्रीय सदस्यले दर्ता गराएको १६ बुँदे विरोधपत्रमा केन्द्रित भएको बताइएको छ ।
बैठक शुरु भएदेखि नै रामचन्द्र पौडेल पक्षले दर्ता गराएको विरोधपत्रमा छलफल भएकोमा शुक्रबार पनि त्यसैले निरन्तरता पाएको स्रोतले जनाएको छ ।
बैठकमा सहभागी नेताहरूका अनुसार पौडेल समूहले आफूहरूले उठाएको माग कुनै पनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए । सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरूको नाम दिन पौडेल समूहसँग अनुरोध गर्नुभएको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठक अझै केही दिन लम्बिने देखिएको छ । यसअघिका छलफलमा नेताहरूले आ–आफ्ना धारणा राखिसकेका छन् । बाँकी नेताहरूले पनि आफ्ना धारणा राख्ने क्रम जारी छ । बैठक शनिबार र आइतबार पनि जारी रहने एक केन्द्रीय सदस्यले लाई जानकारी दिनुभयो ।
शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरूलाई टुंगोमा पु¥याउने तयारी गरेको बुझिएको छ । बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।
पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति शेरबहादुर देउवालाई गत असोज १२ गते विरोधपत्र बुझाएको थियो । यसका वाबजुत सभापति देउवाले गरेका पछिल्ला निर्णयहरू नसच्याइए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसहित पार्टी कार्यालयमा विरोध पत्र दर्ता गराएको थियो ।
कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।








































