बाँके, शुक्रबार, १४ कात्तिक २०७७। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगन्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ ।
बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गरेका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन सबै इस्लाम धर्मावलम्बीमा आग्रह गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । उनले कोरोना भाइरस सङ्क्रमणबाट आफू सुरक्षित राख्दै चाडपर्व मनाउन नेपालगन्जवासीमा अपिलसमेत गरेका छन् ।
नेपालगन्जका विभिन्न स्थान बेलुन, झन्डा, बत्तीसहित सिँगारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि सहरका चोक-चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् ।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सजगताका साथ पर्व मनाउनुपर्ने बताउँदै हालै सम्पन्न भएको दसैँलगायत अन्य चाडपर्वमा देखिएको सद्भाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि कायम राख्न सबैमा अनुरोध गरे ।
“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो,” धर्मगुरु मञ्जरीले भने, “उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।” मोहम्मदको जन्मदिनमा विभिन्न नाअत सरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए । उनका अनुसार आज नेपालगन्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।









































