बुटवल, मंगलबार, २० असोज २०७७ । प्रदेशको स्थायी राजधानी भालुवाङ बनाउने निर्णयमा आपत्ति जनाउँदै नेकपा रुपन्देहीका २ हजार कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारले राजधानी भालुवाङ लैजान खोजेपछि २ हजार पार्टी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
बुटवलमा पत्रकार सम्मेलन गरेर विभिन्न ३५ वटा संस्थामा आवद्ध २ हजार भन्दा धेरै सदस्यले नेकपा परित्यागको घोषणा गरेका हुन् ।
ती संघसंस्थाले आफूले प्रयोग गर्ने भवनहरु दिएर प्रादेशिक संरचना सञ्चालनमा सहयोग पनि गरेका थिए । पार्टी परित्याग गर्नेहरुले नेकपामा बस्न नैतिकताले नदिएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
नेपाल उद्योग परिसंघका प्रदेश ५ का अध्यक्ष एजाज आलम, होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपाल, रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेलगायत विभिन्न पेशा व्यवसायमा आवद्धहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
प्रदेश सरकारले प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि रुपन्देहीमा आन्दोलन सुरु भएको थियो । यो प्रस्तावको टुंगो लगाउन प्रदेश सभामा आज मतदान गर्ने तयारी गरिएको छ ।
आफूहरुले विगतमा आफ्ना भौतिक संरचना प्रदेश सरकारलाई दिएको र अलिहे कुनै छलफल नै नगरीकन नेकपा नेतृत्वको सरकारले राजधानी भालुवाङ लैजान खोजेकाले पार्टी परित्याग गरेको आलमले बताए ।
पार्टी निर्णय तलबाट माथि जानुपर्नेमा माथिबाट लाद्ने काम भएको आरोप पनि उनले लगाएका छन् । प्रदेश सभा सदस्यलाई भेडाबाख्रा जस्तो सोचेर निर्देशन दिने कालोलाई सेतो भन सेतोलाई कालो भन्नै पर्ने प्रवेत्ति विरुद्ध पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।








































