काठमाडौँ, बिहिबार, १ असोज २०७७ । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सपथ लिएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित कृषि समितिको सभाहलमा गौतमलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ , झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।
मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी थिइन् । राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको पदमा गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।
गौतम २०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित भएका थिए ।








































