गोरखा, मंगलबार, ३० भाद्र २०७७ । गोरखामा अपाङ्गता भएका परिवारको घर निर्माण गरी आज एक समारोहका बिच हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग रकम संकलन गरी गोरखामा एक अपाङ्गता भएका परिवारको घर निर्माण गरिएको छ ।

जित बहादुर गुरुङ (निर्माण समिति) को अध्यक्षतामा, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाको प्रमुख आतित्यतामा, शहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जिबन .ब.आले, अभियान्ता एवम वडा अध्यक्ष शरण श्रेष्ठको बिशेष आतित्यतामा, अन्य महानुभावको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।

गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ कोटगाउँमा धनबहादुर श्रेष्ठको घर निर्माण सम्पन्न भएको हो । धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तानमध्ये एक छोरा र दुई छोरी पुर्ण अपाङ्ग रहेका छन् । जसका कारण २०७२ सालको भूकम्पले भत्किएको घर निर्माणमा समस्या भएको थियो ।

उहाँहरु भत्केको घरमै बस्न बाध्य भएकाले वडा अध्यक्ष शरण श्रेष्ठले २०७४ फागुन ११ गतेदेखि फेसबुक मार्फत सहयोग संकलन अभियान सञ्चालन गरेर घर निर्माण सुरु गर्नुभएको थियो । सोही अभियानका क्रममा विभिन्न संघसंस्था समेत गरी ७१ जनाबाट १४ लाख ८१ हजार ७४ रुपैयाँ सकंलन भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । अभियानका क्रममा संकलन भएको एक लाख २१ हजार रुपैयाँ सो परिवारको दैनिक गुजारामा खर्च भएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

निर्माण सम्पन्न भएसँगै आज एक कार्यक्रमका बिच सो परिवारलाई घर हस्तान्तरण गरिएको छ । सो क्रममा गाउँपालिकाका तर्फबाट अध्यक्ष रमेश थापा मगरले सो परिवारमा अपाङ्गता भएका हरुलाई सहायता सामाग्री खरिदका लागि एक लाख रुपैयाँ प्रदान गर्नुभयो । कार्यक्रममा सो अभियानमा सहयोग गर्नेहरुलाई प्रसंसा पत्र पनि वितरण गरिएको थियो ।

बिशेषगरी यस अभियानमा आर्थिक सहयोग उठाउनको लागी सहयोग गर्नु हुने शहिद लखन गाउँपालिका-६ का बिष्णु कुमार श्रेष्ठ, शहिद लखन गापा-८ का अमृत श्रेष्ठ, शहिद लखन गापा-७ का किरण श्रेष्ठ, शहिद लखन गापा-८ वडा अध्क्षय काशिनाथ अंगाई , उत्तर कुमार श्रेष्ठ, नबराज अंगाईको महत्वपुर्ण भुमिका र सहयोग रहेको थियो ।









































