काठमाडौं, आइतबार, २८ भाद्र २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भइरहेका लापरबाहीको छानविनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्नुभएको छ ।
नेता पौडेलले अख्तियारमा भइरहेका लापरबाहीको छानविन र पदाधिकारीहरूलाई जिम्मेवार बनाउन पूर्व–न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठनको माग गर्नुभएको हो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरबाहीउपर छानविन र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरूलाई जिम्मेवार बनाउन एकजना पूर्व–न्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय छानविन आयोग गठन गरियोस् भन्ने माग गर्दछु,’ उहाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।
अख्तियारले भ्रष्टाचारका मुद्दाहरू ‘ढिसमिस’ पारेर आफूले पाएको अख्तियारी दुरुपयोग गरिरहेको भन्दै उहाँले आपत्ति पनि जनाउनुभएको छ । अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणको फाइल ‘मुद्दा नचल्ने’ निर्णय गर्दै तामेलीमा पठाएको बताइएको छ ।
आयल निगमको जग्गा खरिद प्रकरणको फाइल अख्तियारले तामेलीमा राखेको प्रति आपत्ति जनाउँदै नेता पौडेलले प्रश्न गर्नुभएको छ, ‘एक अर्ब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी ढिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ । माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ?’








































