काठमाडौँ, शनिबार, १३ भाद्र २०७७ । विश्व बैंक मार्फत किसानको नाममा आएको अनुदान रकम दुरुपयोग गर्नेलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ । विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा व्यापक अनियमितताको भएको खबर बाहिर आएको छ ।
विश्व बैंकले नै छानबिन गरी अनियमितता गर्नेमाथि कारबाही माग गरेको छ । विश्व बैंकले अनियमितता भएको तथ्य सहित अर्थ मन्त्रीलाई पत्र पठाउनुले देशको गरिमामा आँच पुगेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।
किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पुहँचको आधारमा आफ्ना निकट व्यक्तिहरुलाई वितरण गरिएको तथ्य बाहिर आएको थियो । नक्कली कृषि फर्म देखाएर लाभ लिने कार्य समेत भएको थियो ।
सरकारले दोषीलाई दण्डित गर्ने अग्रसरता नदेखाउनु सरकार दोषीलाई बचाउने तर्फ लागेको कांग्रेसको आशंका छ । अनियमितता गर्ने पदाधिकारीहरुको नाम समेत किटानी गर्दा कारबाही नभएकोप्रति आपत्ति जनाइएको छ ।
दातृ नियकाबाट प्राप्त हुने अनुदानलाई सदुपयोग गर्न, भ्रष्टचार र अनियमिततालाई नियन्त्रण गर्न सरकारलाई कांग्रेसले सचेत बनाएको छ ।








































