काठमाडौँ, सोमबार, ८ भाद्र २०७७ । नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी महानगरपालिकाका मेयरलाई ६ वटा सुझावहरु दिनुभएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद थापाले मेयरसहित काठमाडौं महानरपालिकाको ध्यानाकर्षण गराउनुभएको हो ।
सोमबार विहान महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी सहयोग लिन सुझाव दिनुभयो ।
महानगरभित्र परीक्षणको दायरा साँघुरो रहेको र कन्ट्याक्ट ट्रेसिङ पनि सुस्त भएको भन्दै थापाले यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्न मेयरसँग आग्रह गर्नुभयो ।
अस्पतलाको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भएपनि आइसोलेशनको जिम्मा स्थानीय सरकारको भएकाले काठमाडौंका अन्य गरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेशनको व्यवस्थापन गर्न पनि उहाँको अनुरोध छ ।
गगन थापाले मेयर शाक्यलाई दिएको ६ सुझाव :
१. काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्।हामी सँगै काम गर्न चाहान्छाैं। तपाईँ सफल हुनुभनेकाे हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।
२.महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।
३.कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन। यी सबैको टेस्ट वार्ड/टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।
४.अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारकाे दायित्व हो तर आइसाेलेसनकाे जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।
५. खाद्यान्न पसल दिनको १-२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने,सामान किन्न स्थानीय तहले एक घर एक पासकाे व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।
६. काेराेना संक्रमण संग जाेडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।









































