काठमाडौं, बिहिबार, ४ भाद्र २०७७ । नेपाली नारीले भाद्र शुक्ल द्वितीया। हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरु दर खाँदैछन्।
भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा १० पटक दर खाने चलन छ। आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ।
शास्त्रीय रुपमा भने निराहार व्रत मात्र बस्ने विधान नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितियाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ।
तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकोमा सत्य कुरो बुझ्नतर्फ लाग्न संस्कृतिकर्मीले अनुरोध गरेका छन् ।
तीजमा माइतीले छोरीरचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो।
तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।









































