काठमाडौं, मंगलबार, २७ साउन २०७७ । नेपाली कांग्रेसका १२ युवा नेताहरुले सभापति शेरबहादुर देउवालाई पार्टीका केन्द्रीय विभागहरुको गठन तत्काल रोक्न सचेत गराएका छन् । उनीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर सभापति देउवासँग गठन गरिएका विभागहरु खारेज गर्न माग पनि गरेका छन् ।
“विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ,” उनीहरुले भनेका छन्, “यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरुलाई आग्रह समेत गर्दछौं ।”
उनीहरुले अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा आफूहरु नेतृत्व लिन समेत तयार रहेका प्रष्ट्याएका छन् ।
प्रेस विज्ञप्ति
२०७७ साउन २७
नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ । विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न हुन नसक्ने विशेष परिस्थिति देखिएमा मात्र उपयोग गर्न पाइने एक वर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ । निर्धारण गरिएको समय २०७७ फागुनभित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ ।
यस्तो समयमा पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेताबीच, नेता–कार्यकर्ताबीच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो । यद्दपि, यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ । पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथिहरुका बीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसलापूर्ण महोत्सवको रुपमा निर्धारित समय तालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो । तथापि, यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ
इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुँदैछ । संसारभरी अस्वीकृत अलोकतान्त्रिक विचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ । नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ । साच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भइ बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ । यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउदै उत्पन्न तनाव, बिरक्त र घृणा भावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनस्र्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ ।
यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथिहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ । तर, दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं । हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ । पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ । हाम्रा प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ । हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं । र, हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं । यसको जिम्मेदारी नेतृत्वले लिनु पर्दछ ।
अहिले आएर सभापतिज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता पनि हो । कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ । कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो । सभापति व्यक्ति होइन, संस्था हो । उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन । अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन ।
सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन । आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन । यसबाट गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मूल्य–मान्यताको विषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ ।
हामी यतिबेला पार्टीको १२ औं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरु गठन गर्दा वर्तमान पार्टी सभापतिज्यूले राख्नु भएको तर्क र असहमतिलाई स्मरण गरिरहेका छौं । पदाधिकारी, समिति र विभाग गठनमा दुई वर्षमात्र ढिलो हुँदा वर्तमान सभापतिज्यू कै असहमति र विरोधका कारण तत्कालीन निर्णय फिर्ता लिइयो अर्थात् कार्यान्वयन गरिएन । अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी वैधानिक र उपयुक्त हुन सक्छन् ?
महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनुपर्ने होइन र ? हामीले बनाएका विभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो ।
तसर्थ, विभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ । यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरुलाई आग्रह समेत गर्दछौं । साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं ।
जय नेपाल
डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादव








































