काठमाडौं, बिहिबार, २५ असार २०७७ । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको हो । गएराति भोटेकोसी र अन्य साना नदीमा आएको बाढीमा परेर दुईजनाको मृत्यु, दुईजना सख्त घाइते र १४ जना हराउनुका साथै अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
कांग्रेसले बाढी पीडित क्षेत्रका जनताको तत्काल युद्धस्तरमा उद्धार गर्न सरकारसमक्ष माग पनि गरेको छ । यसअघि सभापति शेरबहादुर देउवाले ट्विट गरेर बाह्रबिसे घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई छिटोभन्दा छिटो बाढी प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका थिए ।
उनले सिन्धुपाल्चोकका कांग्रेस नेता कार्यकर्ताहरुलाई तत्काल उद्धारमा खटिनसमेत निर्देशन दिएका थिए । यस्तै वाग्मती प्रदेशसभा, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि विज्ञप्ति जारी गरेर यथाशीघ्र सिन्धुपाल्चोकका बाढी पीडितको उद्धार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।








































