धादिङ, बिहिबार, २५ असार २०७७ । कोरोना भाइरस (कोभिड–१९) पछि जारी गरिएको लकडाउनको अवधिमा धादिङमा ३२ जनाले आत्माहत्या गरेका छन् । जसमा १४ जना पुरुष र १८ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
लकडाउनको १०७ औं दिनसम्म धादिङमा २६ जनाले झुण्डिएर, सात जनाले विष सेवन गरी आत्माहत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । खड्काकाअनुसार आत्माहत्या गर्ने चार जना बालबालिका र विष सेवनबाट एक बालिकासहित धादिङमा पाँच जना बालबालिकाले पनि अकालमै ज्यान गुमाएका छन् ।
धादिङको १३ वटा स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा सात जनाले आत्माहत्या गरेका छन् भने उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा एक जना पुरुषले आत्माहत्या गरेका छन् । नेत्रावती डब्जोङ गाउँपालिका, गंगाजमुना गाउँपालिकालगायत अन्य गाउँपालिकामा भने लकडाउनको अवधिमा आत्माहत्या गर्नेको संख्या शुन्य रहेको छ ।
लकडाउनको समयमा विशेष गरी आफ्नो जागिर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्पनीय परिवर्तन हुँदा, आघात यातना वा हिंसा र सामाजिक बहिस्कृतको कारण, गरिबी, र डाक्टरदेखि सामान्य मजदुरसम्मले आत्माहत्या गरेको मनोविमर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।
आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने, भावनात्मक पिडाका कारण, पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि कारणले आत्माहत्या गर्ने गरेको थापाको भनाइ छ । आत्माहत्या सम्बन्धी जनचेतना फैलाउने र यस सम्बन्धी स्थानीय तहले नीति नियम बनाएर काम गर्न सकियो भने आत्महत्याको दर घटाउन सकिने उहाँको भनाइ छ ।









































