काठमाडौं, ५ असार २०७७ । अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ ले उत्पन्न गरेको जटिल परिस्थितिका कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने भन्दै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको जिकिर गरे ।
उनले श्रम बजारमा टुटेको सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृंखलालाई सहज गरिने बताए । अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ । ‘हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौं । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ,’ अर्थमन्त्री डा. खतिवडाले भने ।
मन्त्री डा खतिवडाले कोरोना संकट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढंगले जान्छ भन्ने कुरा अर्थतन्त्रको विकासमा भर पर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजस्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजस्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण जानकारी गराए ।
सरकारले आगामी आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । कुल राजस्वमा २९.९ प्रतिशत मूल्य अभिवृद्धि करबाट असुल गरिने विधेयकमा उल्लेख छ ।
छलफलमा नेपाली काँग्रेसका जितेन्द्रनारायण देवले अर्थतन्त्रलाई कसरी गतिशील र आत्मनिर्भर बनाउने भनी प्रश्न गरेका थिए । बैठकमा सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ ।
उक्त बैठकले राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक स्वीकृत स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (चौबिसौं संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताए ।








































