गोरखा, मंगलबार, २ असार २०७७ । नमस्ते किड्स नेपाल संस्थाले गोरखाको गण्डकी गाउँपालिकाको वडा नं ६ का ७० घर परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना महामारीको समयमा उक्त संस्थाले सोमबार राहत स्वरुप उनीहरुलाई खाद्यान्न वितरण गरेको हो । दैनिक ज्यालादारी गरेर जीवन गुजार्दै आएका उनीहरु कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका थिए । गण्डकी गाउँपालिका र वडाध्यक्षले उक्त परिवारलाई सहयोग गर्न संस्थालाई आग्रह गरेका थिए ।
प्रत्येक परिवारलाई एक बोरा चामल, दुई लिटर तेल र एक पोका नुन उपलब्ध गराएको संस्थाका अध्यक्ष सगुन गुरुङले बताए । संस्थाले उपलब्ध गराएको सहयोगले उनीहरुलाई राहत मिलेको वडाध्यक्ष जीवन गुरुङले बताए । उनले सहयोग गरेको भन्दै नमस्ते किड्स नेपाललाई धन्यवाद समेत दिएका छन् ।
आगामी दिनमा पनि उनीहरुलाई सक्दो सहयोग गर्ने संस्थाका अध्यक्ष गुरुङले प्रतिवद्धता जनाएका छन् । आफु हुर्किएको गाउँमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकामा हुर्किएका उनी हाल पोखरामा कार्यरत छन् ।









































