काठमाडौं, ३० जेठ २०७७ । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले महामारीको संवेदनशीलतालाई ख्याल नगरी सरकार झुटको खेतीमा लागेको आरोप लगाएका छन् । सरकारकै विवेकहीनताले कोरोना संक्रमण नियन्त्रण बाहिर गएको र असफलतालाई लुकाउन सरकार झुटको सहारा लिइरहेको उनको आरोप छ ।
महरले शुक्रबार प्रेस विज्ञिप्ति जारी गरेर संकटको आवरणमा सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको आरोपसमेत लगाएका छन् ।
सरकार आफ्ना अकर्मण्यता लुकाउन राज्यशक्तिको दुरुपयोग गरिरहेको जिकिर गर्दै महरले विज्ञप्तिमा गृह मन्त्रालयको पछिल्लो धारणा लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको ठहर गरेका छन् । “सरकार विरोधीहरूलाई दमन गर्ने तानाशाही शैलीमा उत्रिएको छ,” महरले विज्ञप्तिमा भनेका छन्, “संकटको समयमा सरकारका गतिविधि निन्दनीय छन्, तिनको कडा शब्दमा निन्दा गर्दछु ।”
सरकारबाटै लोकतन्त्र संकटमा रहेको ठोकुवा गर्दै नेता महरले लोकतन्त्र विरोधी सरकारका गतिविधिविरुद्ध एकजुट भएर लाग्न विश्वभरका नेपालीलाई आह्वानसमेत गरेका छन् ।
सत्य लुकाउन र विरोधीमाथि दमनका लागि सरकार मिडियामाथि खनिरहेको जिकिर गर्दै उनले राज्य आतंकले लोकतन्त्रलाई संकटतिर धकेलिरेहको दाबी गरेका छन् ।








































