काठमाडौं, ११ जेठ २०७७ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको छ ।
बैठकमा लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा जारीसँगै संविधानको अनुसूची संशोधन गर्न सरकारले संसदमा दर्ता गरेको प्रस्ताव र कोरोना संक्रमणमा सरकारका भूमिका प्रभावकारी भए/नभएकोबारे छलफल हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनादेखि कालापानीसम्मका विषयमा बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको र परीक्षणको दायरा वृद्धि गर्न नसकेकोमा कांग्रेसले आलोचना गर्दै आएको छ ।
त्यसैगरी, विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन सरकारसँग कांग्रेसले आग्रह गर्दै आएको छ ।
साथै, आजको बैठकमा समाजवादी र राजपाले शनिबार सभापति शेरबहादुर देउवासँग गरेको कुराकानीबारे पनि छलफल हुने एक नेताले बताउनु भयो ।
मधेशका जनताका मागअनुसार संविधान संशोधन गर्ने प्रस्ताव पनि अगाडि बढाउनुपर्ने भन्दै समाजवादी र राजपाका शीर्ष नेताले शनिबार देउवालाई भेटेर कुराकानी गरेका थिए ।
देउवाले पदाधिकारी बैठकमा कुरा राखेपछि यसबारे छलफल गर्न सकिने जवाफ दिएका थिए ।
बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा विपक्षी दलका नेता राधेश्याम अधिकारी पनि सहभागी हुने जनाइएको छ ।








































