काठमाडाैं, १ जेठ २०७७ । नेपाली कांग्रेसकी सांसद डा डिला संग्राैला आगामी वर्षकाे बजेटमार्फत आकस्मिक उद्दार कोष खडा गरी काेराेनाकहर र लकडाउनबाट प्रभावितहरुका लागि राहतलगायत स्वास्थ्य सेवाको समुचित व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसद संग्राैलाे कम्तीमा ६ महिनादेखि १ वर्षसम्मको लागि गरिब, अशक्त, दीर्घरोगी एवं विदेशबाट फर्किएका असाहाय नेपालीहरुका हितमा हुने गरी काेष खडा गर्न सुझाव दिएकी हुन् ।
यसका साथै कोरोनाको प्रभावबाट रोजगारी गुमाएकाहरुका लागि रोजगारीको अवसर नपाइञ्जेलसम्म खान बस्नको समुचित व्यवस्था गर्न पनि सुझाएकी छन् । ‘अहिलेको प्रमुख जिम्मेवारी भनेको जीवन रक्षा नै हो । बाँच्न पाउने कुनै पनि नागरिकको नैसर्गिक अधिकार हो, त्यसैले उद्दार काेष खडा गर्न जरुरी छ,’ उनले भनिन् ।
यसबाहेक उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, कोरोनापछिको अर्थव्यवस्थालाई कसरी व्यवस्थापन गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन, शिक्षा क्षेत्रलाई समेटिने गरी बजेट ल्याउन सुझाव दिएकी छन् ।
यसबाहेक उनले महिलाका लागि विशेष कार्यक्रम घाेषणा गर्न पनि माग गरेकी छन् । ‘कोरोनाको महामारीबाट गुज्रिरहेको अवस्थामा महिला माथि अनेकौँ समस्याहरु थुपरेका छन् ।
एकातर्फ हिंसाको सिकार महिला हुन पगेका छन् भने अर्कोतर्फ रोजगारी नहुँदा आम्दानी जोटाउन नसक्ने परिस्थिति सिर्जना हुँदा घरको चुलोमा आगो बल्न नसक्ने अवस्था आएको छ । त्यसैले महिलाको आर्थिक आयआर्जन र सुरक्षाको प्रभावकारिताका साथै महिलाहरुलाई उत्थान गर्ने विशेष कार्यक्रमहरु यो बजेटमा ल्याई शसक्तिकरणको दिशामा महिलाई अग्रसर आवश्यक छ,’उनले भनिन् ।








































