बागलुङ, ३१ बैशाख २०७७ । नेपाल विद्यार्थी संघ बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङमा ज्ञापन पत्र बुझाएको छ ।
भारतले चिनको मानसरोवर जोड्ने गरि निर्माण गरेको राजमार्गले नेपाली भूमि लिपुलेकको भू–भाग प्रयोग गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संघका जिल्ला अध्यक्ष खडक थापा मगरले जानकारी दिनुभयो ।
संघले प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूलाई ज्ञापन पत्र बुझाएको छ । नेवि संघको केन्द्रीय निर्देशन अनुसार आज ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
ज्ञापन पत्र बुझाउँदै संघले नेपाली भूमिमा रहेका भारतीय सेनालाई तुरुन्तै हटाउन र सिमा रक्षाको लागि उच्च उच्च स्तरीय पहलकदमी अगाडी बढाउन माग गरेको छ ।
संघका अध्यक्ष थापाले भारतले नेपालको सिमा समेटेर नक्सा सार्वजनिक गर्दा दुई तिहाईको सरकार मुखदर्शक भएको बताए । उनले सरकारले उपयुक्त कदम नचाल्दा सार्वभौम वीर नेपालीको शिर झुकाउने काम भएको बताउनु भयो ।








































