हेटौंडा, १७ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम गर्न देशमा जारी लकडाउनको समयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा प्रदर्शन गरेको छ ।
महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली हेटौंडाको बुद्धचोकमा पुगेर टुंगिएको थियो ।
बुद्धचोकमा विद्यार्थीहरुले सरकार विरोधी प्लेकार्ड प्रदर्शन गरेका थिए। हेटौंडामा बिहान ९ बजेसम्म अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बजार खुल्ने अवसर पारेर सरकारको विरोधमा नेवि संघले हेटौंडामा नारबाजी र प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेवि संघका नेताहरुले वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको भन्दै देशमा भ्रष्टाचार र महँगी बढेको बताएको थियो । सांसद र पूर्वप्रहरी प्रमुख नै सांसद अपहरणमा संलग्न हुनु भनेको राज्य नै अपराधतर्फ अगाडि बढ्न देखिएको भन्दै सरकारले तत्काल ध्यान दिनुपर्ने उनीहरुको माग छ ।








































