काठमाडौं, ११ बैशाख २०७७ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन, आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइने पर्वको रुपमा मनाइन्छ ।
यो वर्ष कोरोना महामारीका कारण लकडाउन भएकोले छोराछोरिले आमासँग भेटघाट गर्न समस्या भएको छ । आमाबाट टाढा भएकाले मुख हेर्ने दिन सहज रुपमा मनाउन समस्या भएपनी प्रबिधीको माध्यमबाट सन्तानले आमाको अनुहार हेर्न भने सहज बनाएको छ तर संगै हुनेले पनि सामाजिक दूरी कायम गरेर आमाको मुख हेर्ने पर्व मनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन ।
संसारमा सबैभन्दा ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने पर्वको रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउने परम्परा छ ।
छोराछोरीले आज बिहानै आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने र मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।
आजको दिन दिवंगत आमाको सम्झनामा थानकोटमा मातातीर्थमा मेला लाग्छ । तर, यो वर्ष लकडाउनका कारण मेला प्रभावित भएको छ ।
आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।