गोरखा, ९ बैशाख २०७७ । गोरखाको पालुङ्टार नगरपालिकाबाट ३२ जना कामदारलाइ घर पठाइएको छ । नगरपालिकाका नगर प्रमुख, उपप्रमुख एवं वडा नं ७ का वडाध्यक्षले सहयोग गर्नु भएको थियो ।
भूकम्पपश्चात पुन निर्माणको क्रममा कैलाली जिल्ला घर भई गोरखाको विभिन्न विद्यालयहरु बनाउने क्रममा यतिबेला नगरपालिकाको वडा नं ४ स्थित अमर ज्योति मा वि लुइटेलको विद्यालय भवन निर्माण गर्दै गरेका कामदारहरु नेपाल सरकारले गरेको लकडाउन पछि घर जान नपाएका कामदारलाई वडा नं ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, नगर प्रमुख दिपक बाबु कंडेल, उप प्रमुख पम्फा बसेल र वडाध्यक्ष श्रेष्ठले पहल गरी गाडी चढाएर पठाएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
घर जानेमा १० महिला र २२ पुरुष गरी ३२ जना रहेका छन् । नगरपालिकाकै खर्चमा गाडी खोजेर नारायणगढसम्म पुर्याउने व्यवस्था मिलाइदिएको र सम्बन्धि पालिकाको प्रमुख तथा उपप्रमुख संग कुराकानी समेत गरेर सहजीकरण समेत गरिदिएको नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।
लामो समयदेखि लकडाउनका कारण घरमा जान कुनै सवारी साधन नपाएपछि जति दिन लागेपनि हिँडेरै जान तयार भएका कामदारहरुले गाडी चढेर जान पाउँदा खुसी व्यक्त गरेका थिए ।