भक्तपुर, ८ बैशाख २०७७ । कोरोना भाइरसको महामारीले विश्वनै आक्रान्त बनिरहेका बेला नेपाल पनि प्रभावित बन्न पुगेको छ । भक्तपुर जिल्लामा पनि लकडाउनको असर परेको छ । जसका कारण भक्तपुरमा अस्थायी बसोबास गरिरहेका मजदुर,किसान,विद्यार्थीहरु समस्यामा परेका छन् । अहिले आफुमाथि आइपरेको समस्या सल्टाउने सारथी बनेका छन्, भक्तपुर कांग्रेसका प्रभावशाली नेता अष्टनारायण कवे ।
अहिले उनी विहानदेखि राती अवेरसम्म आफ्नै पहलमा राहत सामाग्री लिएर पिडितको घर घर पुगिरेहका छन् । चामल,तेल नुन,दाल लगायतका खाद्यान्न वितरण गरिरहेका छन् । जिल्ला जिल्लाबाट भक्तपुरमा समस्यामा परेकाहरुबारे जानकारी आउनासाथ कवे सहयोगका लागि कुदिहाल्छन् । “देशभरका साथीहरुले फोन गरेर सहयोग गर्दिनुपर्यो भन्नुहुन्छ । यो संकटको घडीमा सकेको सहयोग गरिरहेको छु,” उनले भने ।
आइतबार उनले मुगुबाट आएर भक्तपुरमा रहेका र लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरे । मुगुका कांग्रेस सभापति खड्गबहादुर शाही आज भक्तपुर पुगेका थिए । मुगुबाट काठमाडौ आएर विभिन्न ठाउमा बसोबास गर्नेहरुलाई दैनिकी चलाउन गाह्रो भएको बेला मुगुका सभापति शाही राहत जुटाउन लागिपरेका छन् । उनकै पहलमा भक्तपुरमा रहेकाहरुलाई कवेले सहयोग गरेका हुन् ।
हाल भक्तपुरमै रहेका तरुण दल सोलुखुम्बुका सभापति अशोक झाले भत्तःपुरमा रहेका जो कोहीले समस्या परेको बताएपनि नेता कवेले सहयोग गरिरहेको बताए । राहत वितरण अभियानमा कवेसँगै सक्रिय झाले आफु भक्तपुरमा नेता कवेले गरिरहेको समाजसेवाको कामबाट प्रभावित भएको बताए । “उहाँबाट नेताहरुले समाजसेवा मनदेखि कसरी गर्ने भन्ने कुरा सिक्न सक्छन् । यो संकटमा अहोरात्र उहाँ सहयोगकै लागि सक्रिय हुनुहुन्छ” झाले भने ।









































