काठमाडौं, ६ बैशाख २०७७ । नेपाली काँग्रेसले राहत वितरणका लागि सर्वदलीय समिति बनाउन माग गरेको छ ।
आज शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको हो ।
बैठकपछि काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न जिल्लाबाट सूचना आएकोले राहत वितरणका लागि सर्वदलीय समिति बनाउनुपर्ने निर्णय भएको छ ।’ लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिक, डेरामा बसेका विद्यार्थी, आर्थिकरूपमा विपन्न समुदायलगायतलाई परेको समस्या र सार्वसाधारणका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा देखिएको कठिनाइबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
उनका अनुसार ज्यालादारी श्रमिक र न्युन आय भएका व्यक्तिहरु खान र बसाको अभावले गर्दा ८ १० दिन हिँडेर काठमाडौंबाट कैलालीसम्मलामो दुरीमा पैदल यात्रा गनुपर्ने बाध्यता आएको काँग्रेसको बैठकको निष्कर्ष छ । यस्तो अवस्थामा पनि सरकार सम्वेदनहीन बनेको बैठकको ठहर छ । सडकमा अलपत्र परेका नागरिकलाई सरकारले तुरुन्त उचित व्यवस्थापन गर्न काँग्रेसले माग गरेको छ । मुख्यसचिव पौडेलले भने, ‘विदेशमा रहेका नेपालीहरु, जो दुःखमा छन्, अलपत्र परेका छन्, तत्काल नेपाल आउने इच्छा राख्छन् । उहाँहरुलाई नेपाल ल्याउनुपर्यो बैठकले निर्णय गरेको छ । ‘ उनका अनुसार कोरोना भाइरस परीक्षणको दायरा थप विस्तार गर्न बैठकले जोडदार माग गरेको छ । लकडाउनपछि पनि हजारौँ मानिसहरु विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको भन्दै सरकारले अहिलेसम्म १५, २० हजार मानिसको मात्र परीक्षण बिडम्पना भएको काँग्रेसको भनाइ छ । घम्ती परीक्षण सेवा सञ्चालन गरेरै भए पनि परक्षिणको दायरा बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।
बैठकले स्वास्थ्य सामग्री अझै अप्राप्त भएकोले तुरुन्त गुणस्तरीय सामान प्राप्त मात्रामा ल्याउन र स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मुलुकभर चैत ११ गतेदेखि लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक दोस्रो पटक बसेको हो ।
यसअघि चैत २५ गते पहिलोपटक पदाधिकारी बैठक बसेको थियो । विहान ९ बजेदेखि बसेको बैठक दिउँसो १२ बजे सम्पन्न भएको थियो ।
बैठकमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव पौडेल उपस्थित थिए ।