फिस्लिङ, ५ बैशाख २०७७ । नोवल कोरोना भाइरस (कोभिड–१९) को त्राससंगै चितवनको इच्छाकामना ३ फिस्लिङमा रहेको तरकारी बजार स्थानीयले बन्द गराएका छन् ।
गोरखाको गण्डकी गाउँपालिकाको एक मात्र तरकारी बजार फिस्लिङमा बन्द गराएपछि किसानहरु मर्कामा परेका छन् । साथै, स्थानीयले किसानहरुलाई तरकारी ल्याउन रोक लगाएका छन् ।
शुक्रबार गण्डकी गाउँपालिकाबाट झारेका तरकारीहरु पुल पारीनै रोकिएका छन् । अहिले किसानको तरकारी पुलपारी नै रोकिएको गण्डकीगाउँपालिका वडा नम्बर ६ अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाले समय तोकेरै विहान बेलुका केही घण्टा किसानका तरकारी बजार सम्म ल्याउनका लागि छुट दिएपनि कोेरोनाको त्रास बढेको भन्दै स्थानीयले नैे बन्द गराएपछि किसानहरु थप मर्कामा परेका हुन् ।
चितवनको इच्छाकामना गाउँपालिकाले विहान ६ बजे देखि विहान ९ ः ३० बजे सम्म र साँझ ४ बजे देखि ६ बजे सम्म र गोरखाको गण्डकी गाउँपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म ३ घण्टाको लागि स्थानीय किसानको तरकारी बजार सम्म लैजानका लागि खुल्ला गरेका छ । तर फिस्लिङका स्थानीयले बजारमा तरकारी विक्री वितरणमा रोक लागउनुका साथै गोरखाबाट तरकारी ल्याउने पुलमा बार लगाएका छन् ।
फिस्लिङ चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र धादिङको वेनीघाट रोराङ गाउँपालिकाको तरकारी विक्री वितरण गर्ने मुख्य बजार हो । अहिले तीनओटै गाउँपालिकाका किसानहरु मर्कामा परेका छन् । तरकारीबालीहरु बोटमै कुहिने अवस्थामा आएको किसानहरुले बताएका छन् । लकडाउनपछि तरकारीको मुल्य घटे पनि विक्री भइरहेका थिए । तर बजार नै बन्द गर्ने स्थानीयको निर्णयपछि किसानहरु मर्कामा परेका हुन् ।








































