काठमाडौं, ३० चैत २०७६ । कोरोना रोकथाम, राहत तथा उपचार कोषमा पुर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ जम्मा भएको छ।
आइतबार हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन्।
रकम हस्तान्तरण गर्दै हिमानी कोषले जम्मा गरेको उक्त रकम कोभिड–१९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सही सदुपयोग हुने विश्वास पूर्वराजा शाहले विश्वास लिएको जनाएको छ।
पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारलाई सहयोग गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्रले गएको चैत १८ गते कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।
उनले कोरोनाको महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका थिए ।
उनले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गरेका छन्।