- ADVERTISEMENT -
- ADVERTISEMENT -

गन्हाएको चामल दिएको भन्दै नगरपालिका गेट अगाडी राहत सामाग्री फ्याँकियो

April 11, 2020
1003
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

परासी, २९ चैत २०७६ । राहतका नाउँमा गरिबलाई गन्हाएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यन्न फ्याँकी दिएका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडा मार्फत खाद्यन्न वितरण सुरु गरेको थियो । उपलब्ध गराइएको खाद्यन्नको तौल समेत कमि रहेको उनीहरुले बताएका छन् ।

१८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यन्न सामाग्री खरिद गरेको छ । शुक्रबार बिहान वडा नं। ६ र ११ मा वितरण गरिएको खाद्यन्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको छ । ५ जनासम्मको परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, आधा केजी स्वायविन र दुई वटा सावुन वितरण गर्ने गरी नगरपालिकाले राहत सामाग्री प्याकिङ्ग गरेको थियो । उपलब्ध गराइएको खाद्यन्नमा १० केजी चामलमा १ केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको छ ।

गुणस्तरहीन चामल र स्वायविन बाँडेपछि विपन्नहरुले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न ल्याएर दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् । चामल पकाउँदा पिठो जस्तो र गन्हाउने रहेको स्थानीय ओमप्रकाश मुसहरले बताए ।

नगरपालिकाले २ सय ५० क्विन्टल चामल परासीस्थित राजेश राईस मिलबाट खरिद गरेको हो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रसाद मरासिनीले बताए । चामल गुणस्तरहीन रहेको जानकारी आएकाले गुणस्तर मापन गरेर राहत वितरण हुने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । कम तौल र गुणस्तरहीन पठाएको पाइएमा व्यापारीलाई कारबाही गरिने गुप्ताको भनाई छ ।

प्रशासनद्धारा छानविन समिति

यसैबीच गुणस्तरहीन राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले ५ सदस्यीय गुणस्तर र नाप तौल गर्न समिति गठन गरेको छ । राहतबारे चौतफि आलोचना आएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिले आजै गुणस्तर र नाप तौल गर्न खाद्यन्न सामाग्रीहरु नाप तौल तथा गुणस्तर कार्यालय भैरहवा पठाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -