गोरखा, २३ चैत २०७६ । सिरानचोक गाउँपालिका -७ डाँडागाउँका कृष्णबहादुर नेपालीका नाति सोमबार बिहान लम्जुङको बिचौरबाट पैदल हिँड्दै आइपुगे । गाउँमा नयाँ मान्छे भित्रिएको स्थानीय कोरोना प्रतिकार्य समितिले देख्यो । समितिका सदस्यहरु छिनमै भेला भए । उनीहरुले पाहुनालाई घरभित्र पस्न दिएनन् । बाहिरै स-सम्मान खाना खुवाउन लगाए र तत्काल बिचौर फर्काएका वडाअध्यक्ष सुरज ढकालले जानकारी दिए ।
सोही वडाको उपल्लो गोहोरेका तोयानाथ ढकालको घरमा आइतबार भीमसेन थापा गाउँपालिका, धावा घर भएका छोरी ज्वाईँ आए । उनीहरुलाई पनि स्थानीय प्रतिकार्य समितिले ‘कि क्वारेण्टाइनमा १४ दिन बस्न कि फर्कन’ प्रस्ताव गर्यो । उनीहरु घरभित्रै नपसी फर्किए । त्यस्तै रातामाटेका देउबहादुर बिककी छोरी बारपाक सुलीकोट ४ घुन्चोकबाट माइत आइन् । प्रतिकार्य समितिले ‘कि क्वारेण्टाइनमा बस्न, कि फर्कन’ आग्रह गरेपछि उनी पनि फर्किएको वडाअध्यक्ष ढकालले जानकारी दिए ।
कोरोना संक्रमणको संत्रासका कारण देशभर लकडाउनको घोषणा हुनासाथ सिरानचोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको १४२ वटा टोलमा प्रतिकार्य समिति बनायो । सो समितिले आफ्ना गाउँकालाई पनि बाहिर जान नदिएको र अन्यत्रबाट गाउँ भित्रिन नदिएको गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए ।
‘एकसय ४२ वटा प्रतिकार्य समिति बनाइयो । अभिमुखीकरण गरियो’, गुरुङ भन्छन्, ‘अहिले ती समिति यति चलाख छन् कि, गाउँपालिकाको सीमा क्षेत्रभित्र कोही पस्यो भने को हो, कहाँबाट आएको, कहाँ जाने सबै सोधखोज गरेर स्थानीयबासीले प्रतिकार्य समिति, समितिले वडा, वडाले गाउँपालिकामा खबर गर्छन् । अनि कि क्वारेण्टाइनमा राख्छन्, कि फर्काउँछन् ।’









































