- ADVERTISEMENT -

शिक्षा र विकासपछि फेरिँदै चेपाङ गाउँ

March 17, 2020
898
Shares
- ADVERTISEMENT -

ताकथली (धादिङ), ४ चैत २०७६ । शिक्षाको कुरा कोट्याउँदा खीरबहादुर चेपाङलाई ऊ बेला आफूले रु ३०० मा बेचेको ब्याउने बाख्रोको झल्झली याद आउँछ । आफूले पालेको मायालाग्दो बाख्रो बेचेर पनि पढाइ खर्च जुटाउन नसक्दा चाहेजति शिक्षा पाउन नसकेका ५२ वर्षीय खीरबहादुरका छोरा रमेश चेपाङ अहिले ‘ओभरसियर’ बनिसेकेका छन् ।

खीरबहादुरका पिता ७७ वर्षीय धनबहादुर चेपाङका पालामा त ‘गरिब’ ले शिक्षाको ‘पारिलो घाम’ ताप्न सक्ने अवस्थै थिएन । धनबहादुरको जीवनको ऊर्जाशील समय साहुकोे खेतमा हलो जोतेर र अरुको भरिया भएर बितेको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यसबेला जलकन्या विद्यालय खुलेकै थिएन । अहिले जस्तो मोटरबाटो हुने कुरा पनि भएन । कक्षा ३ सम्म पढ्न पनि करिब एक घन्टाको पैदल हिँडेर पारी गाउँ खोरभञ्ज्याङको राष्ट्रिय माविमा पुग्नुपर्थ्यो । त्योभन्दा माथिल्लो कक्षा पढ्न कोदाको पीठो बोकेर गजुरीको आदर्श मावि धाउनुपर्थ्यो ।

दैनिक त्यहाँ पुगेर बेलुका घर फर्कन सम्भव पनि थिएन । त्यहीँको छात्रावासमा बस्नुपर्थ्यो । अहिले जस्तो माविसम्म निःशुल्क शिक्षाको व्यवस्था पनि त्यतिबेला थिएन । मासिक शुल्क रु २० तिर्नुपर्थ्यो । राजमार्गमा गाडीले भाडा मात्रै पाँच मोहोर लिने गर्थ्यो । यसो कम्मरमाथि हात राखेर खीरबहादुरले भने, “शुल्क तिर्न नसकेर यत्रो बडाँ ब्याउने बाख्रो बेचेँ, तर पनि मैले खर्च नपुगेकै कारण एसएलसीसम्म पनि पास गर्न सकिनँ ।”

- ADVERTISEMENT -

Advertisement

उच्च शिक्षा हासिल गर्ने आफ्नो धोको अधुरै रहे पनि छोराछोरीलाई जसरी पनि पढाउनुपर्छ भन्ने दृढ भावना थियो खीरबहादुरको । त्यसैले अहिले उनका आठ सन्तान शिक्षा हासिल गरिरहेका छन् ।

परिवार नियोजनको ‘सीप’ थाहा नपाउँदा खीरबहादुरका १० सन्तान हुन पुगेको सुनाए । उनका दुई सन्तान सानैमा बिते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट तीनवर्षे ओभरसियर गरेका जेठा छोरा रमेश ताकथलीस्थित चेपाङ गाउँको ७० घर (परिवार)मा माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सफल हुने छ जनामध्येका एक हुन् । पढेका हुनाले रमेशको विवाह पनि पढेलेखेकै महिलासँग भयो । रमेशकी श्रीमती सीता चेपाङ हाल गाउँकै जलकन्या आधारभूत विद्यालयमा पढाउछिन् । नब्बे प्रतिशतभन्दा बढी चेपाङ बालबालिका पढ्ने कक्षा ३ सम्मको यो जलकन्या आविमा गाउँकै चेपाङ समुदायका शिक्षक नवीन्द्र चेपाङ र सुमिला चेपाङ पनि निजी स्रोतमा कार्यरत छन् । 

कुनै बेला गाउँको विद्यालयमा शिक्षक पाउन मुस्किल थियो । अहिले गाउँमै जन्मी हुर्केका र पढेका आफ्नै समुदायका शिक्षक पाउनु चेपाङ गाउँको शैक्षिक रुपान्तरण हो । गाउँमा एसइई सफल हुनेमध्येका अर्का स्थानीयवासी सूर्य चेपाङ पनि छन् । गाउँमा तीन एसइई सफल हुने युवाले विवाह गरेर तीन पठित बुहारी भित्र्याएपछि सो तहमा पढ्ने ‘यस गाउँमा कतिजना छन्’ भनेर सोध्दा ‘छ जना’ भन्ने जवाफ दिन सकिएको हो । वनजङ्गलका गिठ्ठा, भ्याकुर खाने र सीमान्तकृत समुदायको हेपिएको पहिचान बदलेर चेपाङ गाउँ अहिले शिक्षित र आधुनिक हुन थालेको छ । विनाशकारी भूकम्पछिको पुनःनिर्माणका कारण अधिकांश घरमा जस्ताको छानो टल्किन थालेको छ । खोरिया खन्न छाडेर गाउँमै कुखुरापालन, तरकारी खेतीजस्ता आयआर्जनका काम पनि क्रमशः वृद्धि हुन थालेका छन् ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार मुलुकभर ६८ हजार ३९९ चेपाङ छन् । मुख्यगरी धादिङ, गोरखा, चितवन, मकवानपुर, तनहुँ र लमजुङमा यो समुदायको बसोबास छ ।

कूल ३६ दशमलव एक प्रतिशत साक्षरता रहेको चेपाङ (प्रजा) समुदायको परम्परा र थातथलोबारे आधिकारिक दस्तावेज पाइँदैन । यस समुदायलाई पहिलोपटक बेलायती नागरिक सर हड्सनले प्रकाशमा ल्याएको पाइन्छ भने विदेशी नागरिक टोनी हेगनले चेपाङलाई नेपालको ‘वास्तविक जनजाति’ मानेका थिए ।

नेपाल चेपाङ सङ्घले प्रकाशन गरेको ‘चेपाङ जीवनशैली ज्ञानकोष’ मा उल्लेख भएको जनश्रुतीअनुसार ‘चे’ को अर्थ कुकुर र ‘पाङ’ को अर्थ धनुकाँड हुने भएकाले प्रायः पहाडको टुप्पोमा बस्ने यो समुदाय घरमा कुकुर पाल्ने र धनु लिएर शिकार खेल्ने गर्दथ्यो ।

बेनीघाट–रोराङ गाउँपालिका–१० मा रहेको सो जलकन्या मावि छ वर्ष अघिसम्म भीरालो ठाउँमा गोठजस्तो भवनमा सञ्चालित थियो । जापानी नागरिकको सहयोगमा स्थापित ‘एसियन फ्रेन्डसिप नेटवर्क’ को रु १० लाख सहयोगमा खेल मैदानसहितको दुई तले नयाँ भवन बनेपछि चेपाङ बालबालिका रमाएर पढ्न थालेका छन् । अधिकांश विद्यार्थी पोशाक लगाएर आउँछन् ।

विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको छ । अभिभावकले पनि विद्यालयमा चासो दिने गरेका छन् । अन्दाजी ४० वर्षकी स्थानीय इन्द्रमाया चेपाङले आफूले अहिलेसम्म ‘क’ कक्षा पनि नपढेको बताउनुले यहाँ ‘साक्षरता कार्यक्रमले भने निरन्तरता नपाएको देखिन्छ । यहाँ गुपचुपरुपमा बालविवाह हुने गरेको पनि जानकार बताउँछन् ।

जलकन्याका प्रधानाध्यापक टङ्कबहादुर रानामगरका अनुसार हाल बालकक्षादेखि ३ सम्ममा २६ छात्र र ३५ छात्रा गरी ६१ विद्यार्थी छन् । शिक्षक दरबन्दी एक र निजी स्रोतमा दुई छन् । एक बालविकास सहजकर्ता पनि कार्यरत छन् ।

उनका अनुसार विद्यालय आउने उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् । कक्षा छाड्ने क्रम भने रोकिएको छैन । विद्यालयलाई कक्षा ४ मा स्तरोन्नतिका लागि गाउँपालिकालाई निवेदन दिइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चेपाङ भवन बनेकामा खुशी हुँदै अब मातृभाषामा पढाइको प्रबन्धका साथै पुस्तकालय र अन्य भौतिक सुविधा हुनुपर्ने बताउछन् ।

चेपाङ सङ्घका केन्द्रीय शिक्षा विभाग प्रमुख तिलक चेपाङ सीमान्तकृत समुदायको शिक्षामा सरकार र स्थानीय तहले नयाँ ढङ्गले काम गर्नुपर्नेमा पुरानै नीति र नियमका आधारमा व्यवहार गरिएको गुनासो गर्नुहुन्छ तर बेनिघाट–रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले चेपाङ बालबालिका पढ्ने विद्यालयमा आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइरहेको बताए । “चेपाङ गरिब भएकाले खाजा कार्यक्रम र अन्य किसिमका सहयोग जारी रहनेछ । विद्यालय स्तरोन्नतिका विषयमा छलफल भइरहेको छ ।” अध्यक्ष डल्लाकोटीको भनाइ छ ।

गाउँपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख बोधराज पाठक शिक्षक–विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दीको पुनः वितरणको क्रम जारी रहेकाले त्यसपछि विद्यालय स्तरोन्नतिका लागि आधार तयार हुने बताए । उनका अनुसार सङ्घीय सरकारले शर्तसहित अनुदानतर्फ साक्षरताका कार्यक्रम नराखेकाले सो कार्यक्रम सञ्चालन हुन नसके पनि सीमान्तकृत समुदायको शिक्षा र सामाजिक विकासका लागि प्राथमिकता दिइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -