काठमाडौ, २९ फागुन २०७६ । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वका १ सय भन्दा धेरै देशमा फैलिएको छ । कोरोना संक्रमणबाट विश्वमा ४ हजार ६ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोनाको महामारी सुरु भएसँगै सबैजनालाई साबुन पानीले हात धुने र स्यानिटायजरको प्रयोग गर्नका लागि सल्लाह दिइने गरिएकाे छ । अहिले साबुन पानी कि स्यानिटाइजर भन्ने बहस पनि सुर भएको छ ।
यूनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक पल थर्डसनका अनुसार कोरोना संक्रमणबाट बच्नका लागि साबुन पानी उत्तम विकल्प हो । उनका अनुसार साबुनले कोरोना भाइरसमा रहेको लिपिडलाई सजिलै नास गर्ने भएकाले स्यानिटाइजरको तुलनामा साबुन उचित विकल्प हो ।
खासमा साबुनमा फ्याट्टी एसिड र साल्टलगायतका तत्व हुन्छ । साबुनमा हुने यिनै तत्वले कोरोना भाइरसको बाहिरी आवरणलाई निष्क्रिय बनाउँछ । प्राध्यापक थर्डसनका अनुसार यिनै कारणले स्यानिटाइजरको तुलनामा साबुन ठिक छ ।
साबुन पानीले करिब २० सेकेण्डसम्म हात धोएमा भाइरसलाई जोडेर राख्ने उक्त चिपचिपे पदार्थ नष्ट हुन्छ । साबुन पानीले हात धोएको अवस्थामा हात सुख्खा हुनुको कारण पनि यही भएको उनको भनाइ छ ।
यस्तै जेल लिक्विड अथवा क्रीमको रुपमा उपलब्ध स्यानिटाइजरमा साबुन जति भाइरस नष्ट गर्ने तत्व नहुने जोन हकिंग्स युनिभर्सिटीको एक सोधमा पत्ता लागेको छ । कोरोनालाई अल्कोहलको मात्रा धेरे भएका स्यानिटाइजरले मात्रै रोक्न सक्ने पनि सोधमा पत्ता लागेको छ ।









































