काठमाडौं, २८ फागुन २०७६ । आफनो कार्य व्यस्तताका कारण देखाउदै विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षक पदबाट राजीनामा दिएका छन् ।
संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै शाहले दिएको राजीनामा स्वीकृति गरिएको जनाएको छ ।
‘उहाँले आफ्नो कार्यव्यस्तताका कारणले दिनु भएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’
संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।








































