अछाम, २३ फागुन २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो क्रियाशील सदस्यता वितरणमा व्यापक सक्रियता बढाएको छ । जिल्लाका सबै १० स्थानीय तहमा पार्टीका शुभेच्छुक तथा समर्थकलाई सदस्यता बाँडिरहेको कांग्रेस सत्तारुढ नेकपा नेतृत्वको सरकारले एकपछि अर्को कमजोरी गर्दै अघि बढ्न थालेपछि हौसिएर सदस्यता बाँडिरहेको छ ।
कांग्रेसले निर्वाचन क्षेत्र नम्बर २ को कमलबजार नगरपालिकाको वडा नम्बर ५ (कुइका) मा शुक्रबार एक कार्यक्रमका बिच सदस्यता वितरण सम्पन्न गरेको हो ।
सदस्यता वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस अछामका पूर्व सभापति पुष्प बहादुर शाहले पछिल्लो समय कांग्रेसमा मानिसहरुको आकर्षण बढ्न थालेको बताएका छन् । नेकपाका नेताहरु विभिन्न गलत संस्कृतिमा रमाउन थालेकोले जनताहरु कांग्रेसप्रति भरोसा गर्न थालिरहेको उहाँको भनाई छ ।
सदस्यता वितरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा, पञ्चदेवल विनायक नगरपालिकाकी उपप्रमुख एवं महासमिति सदस्य अम्बिका चलाउने, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहचिव तथा प्रवक्ता बेदप्रकाश तिमिल्सैनाको उपस्थिती रहेको थियो ।
नेताहरुले क्रियाशिल सदस्य महाबिर कामी, क्षेत्रीय सदस्य रेशमराज तिमिल्सैना, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि नेत्रराज उपाध्याय र साविकको कुइका गाविस वडा नम्बर १ का पूर्व वडाध्यक्ष जगनाथ उपाध्यायलाई क्रियाशिल सदस्यता कार्ड हस्तान्तरण गरेका हुन् । वडा नम्बर ५ का वडा सभापति डिल्ली सिंह चलाउनेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व सभापति पुष्प बहादुर शाह थिए ।








































