दमौली, २१ फागुन २०७६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका–५ को भेलालाई आज सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले पार्टीलाई बलियो बनाउन तल्लो तहबाट सङ्गठन सुदृढीकरणको अभियान चलाउनुपर्ने बताउनुभयो ।
काँग्रेसका कार्यकर्तासँग मात्र नभई आम जनताको घर–घरमा पुगेर काङ्ग्रेसले अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । केन्द्रीय सदस्य पौडेलले वर्तमान सरकारको आलोचना बढेको भन्दै राम्रा भन्दा गलत क्रियाकलापमा सरकार फसेको आरोप लगाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले नयाँ काम गर्न नसकेको बताउँदै नेता पौडेलले देशमा भ्रष्टाचार बढ्दा देश विकासमा पछाडि परेको चर्चा गर्नुभयो । “दिनैपिच्छे विभिन्न काण्डका घटना सार्वजनिक भइरहेका छन्, यसको निष्पक्ष छानबिन गर्न आवश्यक छ”, नेता पौडेलले भन्नुभयो ।








































