काठमाडौं, १३ फागुन २०७६ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणलाई लिएर प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
संसदमा गणित भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’
गोकुल बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह पनि गरे । ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’ थापाले भने ।








































