काठमाडौं, १० फागुन २०७६ । पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिमा सजाइएको फूल चोरी भएको छ ।
पशुपति क्षेत्र विकास कोषले महा शिवरात्रिको अवसरमा झण्डै दुई करोड खर्चेर विभिन्न देशबाट मगाएको फूल राति नै चोरी भएको हो ।
शुक्रबार रातिसम्म फूल र बत्तिले झकिझकाउ भएको पशुपतिनाथ मन्दिर शनिबार बिहान फूल नै गायब भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा फूलबाट बनाइएका गेट, शिव लिंग, महादेवको बहान साँढेमा रहेका फूल तथा गमलामा सजाइएका फूलहरु चोरी भएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बताए।
बाँदरलेसमेत नबिगारेको फूलको सजावट धर्म कमाउन भन्दै पशुपतिनाथ दर्शनमा पुगेका भक्तजनले नै लुछेर सिद्याए । अन्तका भन्दा छुच्चा र छुल्याहा मानिने बाँदरलाईसमेत पशुपति पुगेका मान्छेले पछि पारे ।
कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपतिका फूल बाँदरबाट जोगाउन सकिए पनि मान्छेबाट जोगाउन नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
ढकालले बाँदर चढ्न सक्ने ठाउँका फूलहरु बरु सुरक्षित रहेको तर, मान्छेले भेट्न सक्ने ठाउँको फूलहरु चोरी भएको बताए।
उनले पशुपतिनाथलाई फूल सजाउन मात्र झण्डै दुई करोड रकम खर्च गरेको बताए । उक्त फूलहरु भारत, अष्ट्रेलिया र थाइल्याण्डबाट मगाइएको थियो ।
यस अघि चीनीयाँ राष्ट्रपति सी जिङ पीङको नेपालको भ्रमणमा आएको समयमा तीनकुनेस्थित पार्कमा सजाइएको दुबो समेत चोरी भएको थियो ।








































