काठमाडौँ, २९ माघ २०७६ । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएको छ । युनियनको मंगलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन् । दुलालले २८५ मत प्राप्त गरे, भने गौतमले १९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिनुभयो ।
कूल ८४३ सदस्य रहेको काठमाडौंं शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो । शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरज तामाङ ( निराश) निर्वाचित भएको छ ।
त्यसैगरी सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुंगाना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








































