रामेछाप, २६ माघ २०७६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइएको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभई स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा उनले जोड दिए ।
शनिबार शेरबहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव बाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा मन्थली पुगेका देउवाले जनताको कर खाएका सरकारी कर्मचारी र सुरक्षाकर्मीले पार्टी, जनप्रतिनिधि र सरकारको गुनगान गाउने काम हैन जनताको सेवामा लागि पर्नुपर्ने बताए ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार राजकाज दुईदिनको घामछाया भएकाले अहिलेका नेकपाका साथीहरूले धेरै उफ्रिन आवश्यक नरहेको बताए । उनले अहिले जसको जित र हार भयो त्यो सधैंकालागि नभएको उनको भनाइ थियो। हिजो र आजको अवस्था हेर्दा मुलुकमा विकासको बाटो भने भएको उनको दाबी थियो ।
मुलुकमा बन्दुकै बन्दुकको भीडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको शर्माले बताए । उनले कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने शर्माको ठोकुवा थियो ।
संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको र गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए ।








































