काठमाडौँ, ११ माघ २०७६ । चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि नेपालमा देखा पर्न सक्ने सम्भावना बढेको छ । नेपालको उत्तरी छिमेकी देश चीनबाट मानिसहरु आवतजावत भइरहने हुँदा नेपालमा पनि सो भाइरसको संक्रमणको सम्भावना देखिएको सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
‘कोरोना भाइरसको जोखिम नेपालमा पनि धेरै नै छ । यसको नियन्त्रणका लागि हामीले काम गरिरहेका छौं ।’ महाशाखाका हेमन्तचन्द्र ओझाले भने । नेपालमा कोरोना लागे नलागेको परीक्षण गर्ने उपकरण नै नभएको चिकित्सकहरुको भनाइ छ । नयाँ खालको भाइरस भएका कारण पहिचानमा समस्या हुने चिकित्सकको भनाइ छ ।
ओझाका अनुसार यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा कोरोना भाइरसको आशंका गरिएका ती युवाको ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो । गत पुस २९ गते चीनबाट स्वदेश फर्किएका ३२ वर्षीय नेपाली युवालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।
अध्ययनका लागि चीन रहेका ३२ वर्षीया ती नेपाली युवा कोरोना भाइरसको संक्रमण फैलिएको चीनकोे वुहान राज्यबाट विदामा स्वदेश फर्किएका थिए ।
यस भाइरसका कारण शुक्रबारसम्म चीनमा २५ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । संक्रमण हुने क्रम बढ्दो छ । विश्वव्यापी रुपमा फैलन थालेको यो भाइरस यो वर्ष सर्वप्रथम चीनको वुहान शहरमा देखिएको हो । वुहानमा घुमफिर गर्ने क्रममा यो भाइरसको संक्रमण बढेको पाइएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।
सुरुआतमा जनावरबाट मानिसमा सरेको उक्त भाइरस अहिले भने मानिसबाट मानिसमा सर्न थालेको छ । जसका कारण चीनमा संक्रमितको उपचार गरिरहेका १५ स्वास्थ्यकर्मी समेत बिरामी परेका छन् । अमेरिकामा पनि कोरोना भाइरस फेला परेको पुष्टि भएको छ । द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
नेपालमा चिनियाँ पर्यटकहरुको चहलपहल बढी हुने भएकाले संक्रमणको जोखिम बढी रहेको छ । कोरोना भाइरसले आक्रमण गरेमा अत्यधिक ज्वरो आउने, रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा अत्यधिक समस्या आउने गर्छ । यसबाट बच्नका लागि धेरै भिडभाड भएको स्थानमा नाकमुख छोपेर हिड्न महाशाखाले आग्रह गरेको छ । यसैगरी कोरोना भाइरस लागेका देशहरुबाट नेपाल आउने मानिसहरुमा त्यस्तो लक्षण देखिएमा तत्काल अस्पतालमा सम्पर्क गर्न पनि महाशाखाले आग्रह गरेको छ ।









































