कास्की, २८ पौष २०७६ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठले चुनावी भेटघाट सुरु गरेका छन् ।
गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बन्नेका पार्टीका सचिवालय सदस्य श्रेष्ठ र महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले आज पोखरामा मतदातासँग भेटघाट गरेका हुन् । उम्मेदवारद्वयले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गरेका थिए ।
त्यस अवसरमा उम्मेदवार श्रेष्ठले पार्टीले राष्ट्रियसभामा आफ्नो आवश्यकता देखेर नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू राष्ट्रियसभामा जान तयार भएको बताए । आगामी दिनमा समेत पार्टी र देशको हितका लागि उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने जानकारी दिँदै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको समेत बताए ।
उम्मेदवार न्यौपानेले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकाले पार्टीको भरोसा र प्राप्त जिम्मेवारीलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गरिन्। राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १८ मतभार छ ।
- ADVERTISEMENT -
निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मतभार छ ।