सुनसरी, ६ पौष २०७६ । बराहक्षेत्र नगरपालिका–५ भरौलबाट प्रहरीले ठूलो मात्रमा विभिन्न हातहतियारमा प्रयोग हुने गोलीसहित एक थान एसएमजी (सर्ट मेसिन गन) बरामद गरेको छ ।

इन्सास, एसएलआर, एसएमजीजस्ता हतियारमा प्रयोग हुने नौ हजार ९८२ थान गोली र एक थान एसएमजी फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । नेपाली सेनालाई ठूलो मात्रमा गोली र हतियार जमिनमुनि गाडिएको रहेको सूचना प्राप्त भएको थियो ।

जमिनमुनि गाडेको अवस्थामा प्रहरीले उक्त परिणामको खिया लागेको गोली र एसएमजी फेला पारेको हो । यससँगै एक बोरा विष्फोटक पदार्थ पनि भेटिएको बताइएको छ । पूर्वमाओवादी कार्यकर्ता खेम प्रधानको जग्गामा पहिले कुखुराको खोर बनाइएको सिमेन्टले ढलाई गरेको खाली जग्गामा सो सामग्री बरामद भएको हो ।

हतियार कसले र कहिले लुकाएको भन्ने खुलेको छैन । तर, माओवादी सेना समायोजनको समयमा तत्कालीन नेकपा (माओवादी)ले लुकाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । हतियार र गोली भेटिएको क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो ।

घटनास्थलमा बरामद गरिएको हतियारबारे प्रहरीले मुचुल्का तयार गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको छ । बरामद भएको हतियार, गोली र विष्फोटक पदार्थबारे अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्