काठमाडौँ,६ पौष २०७६ । ‘टुङ टुङ… पाखुम… पाखुम, टुङ टुङ … झ्याइँ..झ्याइँं’को तालमा ताल दिँदै सहनाइको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका महिलाको समूह देख्दा माहोल नै रमणीय हुन्छ ।

आकाशतिर फर्काएर अर्नाका सिंह आकारका नरसिङ्गा तुतु… धुतु… धुई…इ गर्ने महिला देखेर सबै छक्क नै पर्ने गर्छन् । नेपाली समाजमा प्रायः बाजा बजाउने पेसामा पुरुष नै अगाडि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलित समुदाय र त्यसमा पनि दमाई जातिका मानिसको नै वर्चस्व छ । महिलाले बाजा छुन पनि हुन्न भन्नेहरूका लागि उदाहरण बन्न सफल भएको छ– महिला नौमती बाजा समूह । बिहेको लगनको महिना महिला समूहलाई बाजा बजाउने काममा भ्याइ नभ्याइ हुन्छ ।

समूहका अध्यक्ष जानुका पौडेलले भन्नुभयो, ‘‘केही आर्थिक उपार्जन गरी आत्मनिर्भर हुने विकल्पको खोजीमा बाजा बजाउन सुरु गरेका हौंैँ, अहिले यही कामको चापले भ्याइ नभ्याइ छ, ३५ देखि ४८ वर्षसम्मका महिलाको बाजा बजाउने यो समूहमा ब्राह्मण, क्षेत्री, नेवार, तामाङ जातिमा महिला सम्मिलित छन् ।’’

पौडेलका अनुसार, ११÷११ जनाको दुईवटा समूह छौँ, यसले नभ्याएर अब देशैभर शाखा खोल्नुपर्ने अवस्था आएको छ । विवाहमा बाजा बजाउन नयाँ नयाँ घरमा जाँदा महिलाले बाजा बजाएको देखेर अधिकांश मानिसले अनौठो मान्ने र खुसी हुने गरेको उहाँले बताउनुभयो । ‘‘बाजा बजाउने निम्ता आउँदा हामीलाई पनि आफ्नो तयारी गर्न खुब रमाइलो लाग्छ”, सहनाई बोकेर बस्नुभएकी इन्दिरा श्रेष्ठले भन्नुभयो, ‘‘घर परिवारबाट राम्रो सहयोग पाएकाले बाजा बजाउन सक्ने भएका छौँ । ”

‘‘पहिला पहिला महिलाले बाजा छुन पनि हुँदैन भन्थे’’, गोरखाकी ज्ञानु बरालले बीचैमा कुरा काट्दै भन्नुभयो, ‘‘अहिले त हामीले बजाएको बाजाले सबैलाई मोहित बनाएका छौँ । ”

कतिपय ठाउँमा बाजा बजाउने दलित नै होला पनि भन्छन् अध्यक्ष पौडेलले अनुभव सुनाउँदै भन्नुभयो– क्षेत्री, ब्राह्मण, दमाई, कामी सबै मिसिएर आएका छौँ भनेपछि ए… क्षेत्री बाहुन पनि पो भन्दै छक्क पर्छन् ।

दलित समुदायलाई संस्कारका हिसाबले बाजा बजाउन त्यति समस्या नभए पनि कतिपय ब्राह्मण, क्षेत्रीका परिवारबाट आएका दिदी बहिनीले भने घरमा ठूलै सङ्घर्ष गर्नुपरेको उहाँहरूको अनुभव छ । आफूमा इच्छाशक्ति भए परिवारको विरोधले केही गर्न नसक्ने उहाँहरू बताउनुहुन्छ ।

‘‘आर्थिक उपार्जन गर्ने सोचले बाजा बजाउने अभियान थाल्दा प्रायःले मादक पदार्थ सेवन गरेर जिउ तताएपछि मात्रै बज्छ पनि भन्थेँ तर होइन रहेछ, पानीको बलमा पनि बजाउन सकिँदो रहेछ’’ पौडेलले भन्नुभयो– ‘‘महिला भएकाले बल पुग्दैन भन्ने पनि थिए । हामीले गरेर देखाइदियौँ, अलिकता मिहिनेत ग¥यो भने सकिने रहेछ ।’’

विवाहमा सबैभन्दा धेरै मङ्गलधुनको प्रयोग हुने गर्छ । सो समूहका सहनाई बजाउँदै गर्नुभएका गीता थापाले भन्नुभयो, बेहुलाको घरमा जाने बित्तिकै मङ्गलधुन, दुलाहा निकाल्ने बेलामा, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भिœयाउँदा मङ्गलधुन बढी प्रयोग हुन्छ । अनि बिदाइ गर्ने बेलामा ख्याली झ्याली, नरसिङ्गा, ढोलकी र सहनाई नै प्रयोग हुन्छ ।’

बाजा बजाउन धेरै ठाउँ पुग्नुपर्ने र ठाउँ पिच्छे फरक–फरक अनुभव सङ्गालेको छ महिला नौमती बाजा समूहले ।

‘‘कुनै ठाउँमा त बेहुलीलाई अन्माउँदा बेहुला नै रुन्छन्”, भक्तपुरकी अम्बिका परियारले हाँस्दै भन्नुभयो, ‘‘बेहुलासम्म रुने माहोल बनेपछि हामी नरुने त कुरै भएन नि तर बाजा बजाउने जिम्मा भएकाले हामीहरू आँसु लुकाउँछौँ ।”

पञ्चैबाजा र नौमती बाजामा के के ?

सहनाई : मुखले फुकेर बजाइने सहनाई पञ्चैबाजामध्ये मुख्य स्वरबाजा हो । सहनाईलाई कतै सनही, सनई, सनाई र सहनै पनि भन्ने गरिन्छ । मानिसलाई हँसाउने, रुवाउने, नचाउने गरी सहनाईमा लोक धुनदेखि शास्त्रीय सङ्गीतसम्म बजाउन सकिन्छ । पञ्चैबाजा बजाउन सिकाउँदै आउनुभएका रविन नेपाली भन्नुहुन्छ, पुरानो चलन अनुसार, विवाहमा चेलीको बिदाइमा सहनाईको विशेष भूमिका हुन्छ । माइती पक्षले छोरी अन्माएर दिनु विवाहको सबैभन्दा मार्मिक क्षण हो ।

ढोलकी : पञ्चेबाजामा संयोजन गरिने ढोलकी ढोल बाजा समूहको तालवाद्य हो । आआफ्नो जाति वा समूहमा ढोल बाजाका बोल र बजाउने प्रक्रिया बेग्लै हुन्छन् । दुईमुखे ढोलकीलाई पञ्चेबाजामा एकापट्टि गँजाले हानेर र अर्कोपट्टि बायाँ हातले ताल दिएर बजाइन्छ नेपालीले भन्नुभयो, पञ्चैबाजा बज्दा ढोलकीको तालले मानिसलाई नाच्न प्रेरित गर्छ ।

झ्याली : पञ्चेबाजामा अर्को सहायक ताल बाजा हो– झ्याली । काँसबाट बनेको झ्यालीलाई विभिन्न आकार प्रकारमा विभिन्न जाति समुदायले बजाउँदै आएका छन् ।

दमाहा : पञ्चेबाजामा चौथो आबद्ध तालबाजा हो– दमाहा । तामालाई छालाले मोडेर बनाइने यो बाजालाई एउटा गँजाले बजाइन्छ भने बजाउनुभन्दा एक दिनअघि पानी हालेर भिजाइन्छ । हिन्दु धर्मशास्त्र र साहित्यमा युद्धको प्रसङ्ग आएसँगै ‘दुन्दुभि’ बजेको चर्चा आउँछ ।

रामशरण दर्नालको पुस्तक ‘नेपाली सङ्गीत–संस्कृति’अनुसार, नगराकै सानो स्वरूप दमाहा फारसी शब्दबाट आएको हो । दमाहाले पञ्चैबाजाको ताललाई बलियो बनाउँछ ।

ट्याम्को : पञ्चेबाजाको सबभन्दा कान्छो र सानो सहायक बाजाको नाम हो– ट्याम्को । घाँटीमा झुन्ड्याएर दुई गजाले बजाइने ट्याम्कोले तीखो स्वरमा ताललाई निरन्तरता दिन्छ ।

कर्णाल र नरसिङ्गा : धातुले बनेको कर्णाल÷कर्नाल प्राचीन वाद्यहरूमध्ये एक हो । यसलाई पहिले खासगरी विजयोत्सवमा बजाइन्थ्यो । विवाहका बेला बाटोमा अर्को जन्तीसँग जम्काभेट हुँदा कर्णाल र नरसिङ्गाले आआफ्नो बोलद्वारा परिचय दिने रबिन नेपालीले बताउनुभयो । गोरखापत्रको साथमा

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्