काठमाडौं, ४ पौष २०७६ । उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरु हुने जनाएको छ ।

उक्त बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

बैठकले शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने जनाएको छ ।

निर्वमान सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयको महिला कर्मचारी रोशनी शाहीलाई यौनर्दुव्यवहार गरेको आरोप लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त भएको छ ।

सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् । उपसभामुख तुम्बाहाङफेले शुक्रबारको बैठकमा पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधनमा शोक प्रस्ताव पारित गर्ने बताएकी छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्