काठमाडौं, २ पौष २०७६ । सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा नेपाल विद्यार्थी संघको कुन्दनराज काफ्ले समूहले बुधबारदेखि रिले अनशन थालेको छ ।

३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको काफ्ले समूहले रिले अनशन थालेको हो । बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन् । निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिनुभयो ।

सानेपामा पद्मा भुसाल, मनिता सिटौला, बिन्दा बोगटी, रोस्मिता कार्की र रुपा पोख्रेलसहितलाई पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले माला लागाइदिँदै रिले अनसनको सुरुवातको घोषणा गरे। रिले अनशनमा बसेका विद्यार्थीहरुले यदि नेपाली कांग्रेसले आफूहरुका माग पूरा नगरेमा आमरण अनसन बस्‍ने चेतावनी दिएका छन् ।

नेविसंघका नेता नवराज त्रिपाठीसहितले रिले अनशनमा बसेकालाई टीका लगाइदिँदै मातृपार्टीले माग पूरा नगरेमा अझै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

कार्यअवधि सकिएपछि अहिले नेविसंघ मृतप्राय छ। कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ५० वर्षीय राजीव ढुंगानालाई नेविसंघको नेतृत्व दिन लागेपछि विद्यार्थीहरु पटक पटक आन्दोलित छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्