गोरखा, २९ मङ्सिर २०७६ । गोरखाको भिमसेन थापा गाउँपालिका–५ बगुवा गएराती भएको आगलागीबाट १३ लाख रुपैया बराबरको क्षति भएको छ ।

स्थानीय झण्डप्रसाद ढकालको घरमा अँगेनामा रहेकोे आगो सल्किएर घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायवउपरीक्षक (डिएसपी) मित्रबन्धु शर्माले जानकारी दिनुभयो । आगोलागीबाट ढकालको ढुङगामाटोले बनेको दुईतले घरमा पूर्णरुपमा क्षति पुगेको उहाँले बताउनुभयो ।

‘बेलुकी रोटी पकाएर अँगेनाको आगो ननिभाइ उहाँहरु सुत्नुभएको रहेछ, त्यही आगो एक्कासी सल्किए फैलदै जाँदा घरभित्र रहेको दुई ओटा ग्यास सिलिण्डर बिस्पोट भई घरमा पूर्णरुपमा क्षति भएको हो ।’ उहाँले भन्नुभयो ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको डिएसपी शर्माले बताउनुभयो । आगलागीबाट रु ५ लाख नगद, ५ तोला सुन, घरमा रहेको सवै अन्नपात, लत्ताकपडा लगायत जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी गोरखाले आजै पिडितको घरमा पुगेर आपतकालिन सहयोग सामाग्री हस्तारन्तण गरेको सभापति भगवानबाबु मास्केले जानकारी दिनुभयो ।

पाँच जनाको परिवार रहेको ढकालको परिवारलाई रेडक्रसले त्रिपाल, कम्मल, बाल्टी, ओड्ने औछ्याउने कपडा, किचनका सामाग्री लगायतका आपतकालिन सामाग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्